काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसको खोप काठमाडौं आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहान साढे ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । यसै जहाजले चीनको राजधानी बेइजिङबाट खोप काठमाडौं ल्याएको हो ।
जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ उडेको थियो । चीन सरकारले नेपाललाई कोरोनाविरुद्धको ‘भेरासेल’ खोप दिएको छ । यो खोप चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको हो ।
खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोपको दुई मात्रा लगाएपछि साइकल पुरा हुन्छ । नेपालमा अहिले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइएको छ । पहिलो पटक चिनियाँ खोप नेपाल आएको हो ।