कप्तान विराज महर्जनले लिए सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आज दशरथ रंगशालामा बंगालदेशविरुद्धको थ्री नेसन्स कप फुटबलको फाइनलमा खेलेका उनको यो खेल देशका लागि अन्तिम थियो । उनले यसअघि नै यो घोषणा गरेका थिए । सोहीकारण आज प्रशिक्षक बालगोपाल महर्जनले विराजलाई ८९ औं मिनेटमा मैदान छिराएका थिए । उनले कुल ७ मिनेट मैदानमा बिताए ।

यद्दपी उनको विदाईको क्षण भने सुखद रह्यो । किनकी यो खेल नेपालले जितेको छ । ३१ वर्षीय डिफेन्डर पछिल्लो समय टीममा पर्न भने छाडेका थिए । उनको बिदाईका बेला आज खेलाडीले विराजलाई काँधमा बोकेर मैदान परिक्रममा परेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाएर उनको सम्मान गरे ।


उनी २१ महिनापछि राष्ट्रिय टिममा परेका हुन् । उनले सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै नेपालका लागि डेब्यू गरेका हुन् । यसबीचमा उनले ७३ पटक मैदानमा उत्रने मौका पाए । उनले कुल १८ खेलमा कप्तानी गरेका छन् । उनको कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं साग फुटबलको उपाधि उचालेको छ ।