ललितपुरमा बर्डफ्लू पुष्टी

ललितपुर । ललितपुरमा बर्डफ्लू पुष्टी भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खुमा कृषकले पालेका पन्क्षीमा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ । नख्खुमा हाँस, कुखुरा तथा बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टी भएको हो । भारतमा बढ्दो यो रोगको संक्रमण नेपालमा समेत फाट्टफुट्ट देखिएको छ ।

नेपालमा यस वर्ष बर्ड फ्लु देखिएको यो छैटौँ पटक हो। सुर्खेत, जाजरकोट र काठमाडौँको तारकेश्वरमा यसअघि बर्डफ्लु पुष्टी भएको थियो । ती स्थानका बर्ड फ्लू भने नियन्त्रणमा रहेको छ ।

बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट अरु स्थानमा फैलिन नदिन त्यहाँ रहेका पक्षीलाई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट दक्ष जनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकेको विभागले जनाएको छ ।

यहाँ ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ। विभागले हरेक स्थानमा सोही विधि अपनाएर कृषकलाई क्षतिपूर्ति दिने गर्छ ।