काठमाडौं । कोरोना भाइरसका संक्रमित १० दिनसम्म अनिवार्य आइसोलेसनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लक्षण भएका संक्रमित अस्पताल र नभएका बिरामी घरमा अनिवार्य आइसोलेसनमा बस्नु पर्नेछ । भारतमा अहिले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले यस्तो सर्कुलर जारी गरेको हो ।
सरकारी संचारमाध्यम गोरखापत्रका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइले सातवटै मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई यस्तो जानकारी गराएको छ ।
एकाइका प्रमुख डा. गुणराज लोहनीले अस्पताल र आइसोलेसन सेन्टरमा राखेबापत प्रतिदिन प्रतिबिरामी दुई हजार रुपियाँ सोधभर्ना स्वास्थ्य मन्त्रालयबाट लिन सकिने जानकारी गराएका छन् ।
अहिले नेपालमा पनि क्रमशः संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । सोमबार १४१ जनामा संक्रमण पुष्टी भयो । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९८० पुगेको छ ।