काठमाडौं । राजधानी काठमाडौंमा घाम देखिन थालेको छ । यसले भिजिविलिटीमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा आज बिहान दुई हजार मिटरसम्म भिजिविलिटी रहेको छ । यो चार हजार मिटरसम्म पुग्ने अनुमान छ । यो हेलिकोप्टर उडान सम्मलाई पुग्ने भिजिविलिटी हो । हवाईजहाज भने १५ सय मिटरको भिजिविलिटीमै उड्न सक्छन् ।
आज देशको पहाडी भू–भागहरुमा मौसम आंशिक बदली रहेको विभागले जनाएको छ । बाँकी भू–भागमा बदली नरहे पनि तुवाँलो भने लागिरहेको छ । देशका विभिन्न भेगका वनमा लागेको डढेलो नियन्त्रणमा नआएकाले तुवाँलो अझै केही दिन कायम नै रहने विभागको भनाई छ ।
अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ । रातमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।