काठमाडौं । सेयर बजारमा उछाल आएको छ । मंगलबार दोहोरो अंकले बढेको बजार आज लगातार दोस्रो दिन दोहोरो अंकले बढेको हो ।पछिल्ला दुई दिनमा नेप्से करिब ७४ अंकले बढेको छ ।
सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक रहेको छ । अद्धिल्लो साता औसतमा दैनिक ४ अर्ब हाराहारीमा रहेको कारोबार रकम यससाता दैनिक ६ अर्ब माथि पुगेको हो ।
आज सेयर बजार मापक सूचक नेप्से ४३.३६ अंकले बढेर २६१९.०२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँ बराबरको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर किनबेच भएका छन् ।
बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक ३४९.६८ अंकले बढेको छ भने व्यापार समूह ९८.९९ अंकले घटेको छ ।
कारोबारमा आएका २०९ कम्पनीमध्ये १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्यमा गिरावट आएको छ । २४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एचआडीसीएलको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ३६ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशी ३१ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक ३० करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त, वोमी लघुवित्त, अजोड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज रैराङ हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ३.२९ प्रतिशत गुमाएका छन् ।