कनेक्टिकट
अमेरिकाको कनेक्टिकट राज्यमा २०६ औं आदिकवि भानुभक्त जन्मजयन्ती एक भव्य काव्य समारोहको साथमा सम्पन्न भएको छ । कनेक्टिकट नेपाली समाजका अध्यक्ष जितेन्द्र बस्नेतज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा यज्ञ पौड्याल, महेन्द्र श्रेष्ठ, कुलदिप अधिकारी, शिव न्यौपाने, कृष्ण कँडेल, विष्णु तिवारी, अर्जुन दाहाल, प्रकाश भट्टराई, केशव दाहाल, लक्ष्मी बजगाई, वसन्ता न्यौपाने, अशोक श्रीवास्तव र धन लामा लगायत कवि तथा कवयत्रीहरूले आफ्नो काव्यरचनाहरु प्रस्तुत गर्नु भएको थियो । कनेक्टिकट राज्यको राजधानी हार्टफोर्डको स्थानीय ऐलिजाबेथ पार्कको रमणीय गुलाबको बगैंचामा सम्पन्न समारोहमा धन लामाको शब्द रचनामा रहेको “भानु तिम्रो रामायणले मैले राम जानें” शिर्षकको गीतिकवितालाई केशव शर्मा दाहालले आफ्नो संगीत र स्वरमा प्रस्तुत गर्नुहुँदा कार्यक्रममा सहभागी दर्शक तथा श्रोताहरू मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा प्रौढ तथा बालवालिकाहरु गरी करिव ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन र समन्वयको जिम्मेवारी कवि तथा गीतकार धन लामाले लिनुभएको थियो भने कवि शिव न्यौपानेले आदिकवि भानुभक्तको जीवनी माथि प्रकाश पारिसके पछि मुख्य विषयमा प्रवेश गरेको सो कार्यक्रमको सन्चालन कनेक्टिकट नेपाली समाजका सचिव भद्र राई र कवयत्री वसन्ता न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।