रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

सांकेतिक तस्वीर

काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकको अब अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी मिल्नु पर्ने भएको छ । त्यसरी नमिलेको पाइएमा भने विमानस्थल बाटै फर्काइने भएको छ ।

वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिन गरेको वा नक्कली बायोमेट्रिक लिएको अवस्था भए उनीहरु विमानस्थलबाटै फर्कनुपर्ने स्पष्ट पारेको छ ।

यो व्यवस्था १ वैशाखबाटै लागु हुने भएको छ । पछिल्लो समयमा विभागले गरेको अनुगमनका क्रममा वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने, दिने गरिएको पाइएको छ ।

तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराइएको भेटिएको भन्दै विभागले अब कडाई गर्न लागेको छ । विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा मिलान गराउँदा आधिकारिक नभएको पाइएपछि यस्तो नियम ल्याइएको हो ।


नक्कली बायोमेट्रिकको प्रयोग गरी विदेश जाँदा श्रमिक स्वयमले असुविधा भोग्नुपर्ने
भन्दै यस्तो जोखिम नलिन समेत आह्वान गरेको छ । नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुन्छ ।

बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानुनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने विभागले स्पष्ट पारेको छ ।

अभिमुखीकरण तालिम प्रदायक संस्थाले सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनुपर्ने भएको छ ।