मेलम्चीपछि सर्वसाधारणमा सेयर जारी गर्ने तयारीमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

काठमाडौं । काठमाडौंमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनमा आएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार मेलम्चीको पानी वितरणले पूर्णता पाएपछि कम्पनीको आर्थिक अवस्थामा सुधार हुनेछ ।

त्यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निकाल्ने भएको छ । कम्पनीप्रति आम मानिसको अपनत्व बढाउन र नाफा वृद्धिका लागि यो योजना सफल हुने अपेक्षा लिइएको छ । नेपालमा लगातार तीन वर्ष नाफामा देखिएको कम्पनीले सेयर जारी गर्न पाइने व्यवस्था छ ।

केयूकेएलले अहिले दैनिक आठ करोड लिटर पानी वितरण गर्छ । मेलम्चिको पानी आएपछि दैनिक १७ करोड लिटर क्षमता थप भएको छ । मेलम्चीको दोस्रो आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाको १७\१७ करोड लिटर पानी थप भएपछि केयूकेएलको क्षमता दैनिक ५१ करोड लिटर पानी वितरण गर्ने पुग्नेछ ।

केयूकेएलमा काठमाडौँ महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौँ उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको रहेको छ ।