संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु

File

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै काठमाडौं उपत्यका प्रवेशमा पुनः कडाई शुरु भएको छ । काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका देखिएका मानिस माथि ज्वरो नाप्ने काम शुरु भएको जानकारी नेपाली संचारमाध्यमलाई गराएका छन् ।

उनका अनुसार चार दिन अघि देखि नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले कर्मचारीले ज्वरो नाप्ने काम थालेका छन् ।

आगामी दिनमा स्वास्थ्य मापदण्ड पालनामा अझै कडाई गरिने उनको भनाई छ । नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहर भित्रन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले कडाई थालेको हो ।