मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन आज, राष्ट्रपतिले भृकुण्टीमण्डपबाट शुभारम्भ गर्दै

काठमाडौं । काठमाण्डौमा मेलम्चीको पानीको वितरण आंशिक रुपमा शुरु भएको छ । पानी वितरणको शुरुवात भइसकेको छ । तर, यसलाई पुनः राष्ट्रपतिको हातबाट उद्घाटन गराइने भएको छ । पानी वितरणको उद्घाटन गर्न काठमाडौंको भृकुटीमण्डपमा ढुंगे धारा बनाइएको छ ।

सोही धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । आज दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजनाले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत जाने छन् । अहिले काठमाडौंको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण सुरु भइसकेको छ । बालाजु पोखरीमा समेत बिहीबारबाट पानी पठाउन थालिएको छ । आजबाट नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण गर्ने तयारी छ ।