राष्ट्रपतिद्वारा ढुंगेधाराको टुटी खोलेर मेलम्चीको पानी वितरणको उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छन्। काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर उनले दिउँसो बजे उद्घाटन गरेकी हुन्।

उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री तथा विभिन्न‍ विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति छ।

मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि शुक्रबार मात्र औपचारिक उद्घाटन गरिएको हो। भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गरिएको हो। मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ।

सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ। काठमाडौंमा पानी संकट टार्न सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याइएको छ। मेलम्ची आयोजनाबाट ल्याइएको पानी काठमाडौं र ललितपुरका विभिन्न स्थानमा केही दिनदेखि वितरण गरिराखिएको छ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी वितरण गरिँदै छ। अनामनगरको ८०० घरमा भने २४सै घण्टा पानी वितरण भइरहेको छ। आज बिहानदेखि बालाजु‚ सोह्रखुट्टे लगायतका स्थानमा पनि पानी वितरण थालिएको छ।