ताइवानमा रेल दुर्घटना, कम्तिमा ५० जनाको मृत्यु

Photo : Sam Yeh/Agence France-Presse — Getty Images

काठमाडौं\एजेन्सी । ताइवानमा भएको एक रेल दुर्घटनामा कम्तिमा ५० जनाको मृत्यु भएको छ । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ भित्र यात्रुबाहक रेल दुर्घटनामा परेको हो । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको बताइएको छ ।

उद्धारकर्ताले सुरुङभित्र च्यापिएका मानिसको उद्धार गरेका छन् । प्रहरीले कम्तीमा ५० जनाको मृत्यु भएको पुष्टी गरेको छ । अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको बताइएको छ । उद्धारपछि ६० जनालाई अस्पताल लगिएको छ ।

अधिकारीहरुले तटीय शहर हुलियान नजिकको सुरुङ नजिक एउटा मर्मत कार्यमा प्रयोग गरिएको सवारी साधनले तिब्र गतिमा दौडिरहेको रेललाई ठक्कर दिएको अनुमान गरेका छन् ।

हुलियान शहरका प्रहरी प्रमुख चाई डिङ–हेसियानले निर्माण कार्यमा प्रयोग भइरहेको एउटा सवारी साधन रेलको लिकमा खसेका कारण रेल दुर्घटनामा परेको बताएका छन् । स्थानीय संचार माध्यमले रेलको नजिकै एउटा ट्रक क्षतविक्षत अवस्थामा रहेको तस्वीर छापेका छन् । उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको हो । रेलमा ४ सय ९० यात्रु चढेका थिए ।