नयाँ दिल्ली । लोकप्रिय क्रिकेटर सचिन तेन्दुलकर कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका छन् । पाँच दिनसम्म घरमै आइसोलेसनमा बसेका उनलाई त्यसपछि समस्या बढ्दै गएसँगै अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी शुक्रबार अस्पताल भर्ना भएका हुन् ।
उनको स्वास्थ्यमा समस्या बढेसँगै थप उपचारका लागि अस्पताल भर्ना हुन चिकित्सकले सुझाव दिएका थिए । तेन्दुलकरबाहेक परिवारका अन्य सदस्यमा भने कोरोना देखिएको छैन ।
अस्पताल भर्ना भएपछि शुक्रबार तेन्दुलकरले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गरेका सबैलाई आभार व्यक्त गरेका छन् ।
उनले चिकित्सकको सुझाव अनुसार आफू अस्पताल भर्ना भएको र चाँडै निको भएर घर फर्किने विश्वास व्यक्त गरेका छन् । भारतका विश्वविजेता क्रिकेटर तेन्दुलकरको नाममा सबै फम्र्याटका अधिकांश विश्वरेकर्ड रहेका छन् । उनलाई भारतीयहरु क्रिकेटका भगवान मान्छन् ।