काठमाडौं । कांग्रेसले सरकारको राजिनामा माग गरि नयाँ सरकारको पहल लिने निर्णय गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिेन तयारी गरेको छ । पार्टीले आज स्थायी कमिटी बैठक डाकेको छ ।
११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफलको एजेण्डा राखिएको नेताहरुले बताएका छन् । माओवादीले लामो समयदेखि कांग्रेस र जसपामा हुने निर्णय कुरेर बसेको थियो ।
एकातिर प्रधानमन्त्रीको राजिनामा माग्ने र अर्कोतर्फ समर्थन फिर्ता नलिने गरेको माओवादी समेत आलोचित बनेको थियो । तर, माओवादीले सरकारबाट समर्थन फिर्ता लिनासाथ कांग्रेस र जसपा मिलेर प्रधानमन्त्रीले विश्वासको मत लिन सक्ने सम्भावना रहेका कारण माओवादीले आँट गर्न भने सकेको छैन ।
माओवादीले समर्थन फिर्ता लिनासाथ सरकार अल्पमतमा पर्छ । त्यस अवस्थामा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठन प्रकृयामा जाने छ ।
माओवादी केन्द्रले आफुले सरकारको नेतृत्व नलिने बताएसकेको छ । यस अवस्थामा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने अवसर पाउनेछ । सोहीकारण नेताहरुले सभापति शेर बहादुर देउवालाई मनाएका छन् ।