६ महिनामा भित्रिए ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक

काठमाडौं । ६ महिनामा नेपालले ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक भित्राउन सफल भएको छ नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को ६ महिनामा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०१८ को ६ महिनामा ५ लाख २० हजार १४ जना पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक रहेको छ । यस वर्ष अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.६० प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

नेपालमा पछिल्लो समय बौद्धमार्गी बाहुल्य भएका मुलुकबाट पर्यटक बढी भित्रिरहेका छन् । चीन, थाइल्याण्ड, श्रीलंका, चाइनिज ताइपेइजस्ता मुलुकका पर्यटकको वृद्धिदर निकै उत्साहजनक रहेको छ ।

तर, भारत, बंगलादेश, पाकिस्तान तथा यूरोपका पर्यटकको वृद्धि भने कम रहेको छ । अमेरिका र आसीयाना क्षेत्रबाट पनि उल्लेख्य पर्यटक बढ्न नसकेको तथ्यांकले देखाएको छ ।

बोर्डका अनुसार ४ लाख ९० हजार ५ सय ३४ जनाले हवाई मार्ग प्रयोग गरी नेपाल आएका छन् भने ९४ हजार ९ सय ९७ पर्यटक भने स्थलमार्गबाट नेपाल भित्रिएका छन् ।

स्थलमार्गबाट भित्रने भारतीय नागरिकलाई भने पर्यटक मानिदैन । उनीहरुको गणना पनि हुँदैन ।

तथ्यांकअनुसार ६ महिनामा यूरोपबाट आउने पर्यटकको संख्या केवल २.३२ प्रतिशतले मात्र बढेको छ । अष्टे«लिया र न्यूजिल्याण्डबाट पनि गत वर्षकै हाराहारीमा पर्यटक भित्रिएका छन् ।

श्रीलंकाबाट गत वर्षको तुलनामा ५२.४१ प्रतिशत पर्यटक बढी आएका छन् । चीनबाट १९.५३ प्रतिशत पर्यटक बढ्दा भारतबाट ७.३६ प्रतिशत मात्र पर्यटक बढेको तथ्यांक छ ।