कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा यो साता थप चार जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घले गर्ने साप्ताहिक अपडेट अनुसार एक साता भित्र कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको ज्यान गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको ज्यान गइसकेको छ ।

यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण थप भएको छ । अहिलेसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तीमध्ये ६२ हजार ६६३ कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएको भन्दै संघले स्वास्थ्य सावधानी अपनाउन आह्वान समेत गरेको छ ।