कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजीनामा दिएका हुन्। उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो ।

यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् ।