हिंसा बढेपछि अमेरिकाले रोक्ने भयो घरेलु बन्दुकको प्रयोग

तस्बिर श्रोत : टेक्सस ट्रिबुन

वासिंटन डिसी । अमेरिकामा व्यक्तिगत सुरक्षाका लागि लिइने घरेलु बन्दुकको दुरुपयोग गरी हिंसा बढेसँगै अब घरेलु बन्दुकको प्रयोगमा रोक लाग्ने भएको छ । दर्ता नहुने र को सँग बन्दुक छ भन्ने पत्ता लगाउन नसकिने भन्दै राष्ट्रपति जो बाइडनले अमेरिकामा गोस्ट गन भनेर चिनिने घरेलु रूपमै उत्पादन हुने बन्दुक प्रयोग रोक्न लक्षित निर्देशन जारी गरेको बीबीसीले लेखेको छ ।

उनले विहीबार महामारीका बीच बन्दुकका कारणबाट भएको हिंसा अन्तर्राष्ट्रिय स्तरमै लज्जाको विषय भएको बताए । बाइडनले नयाँ निर्देशन कार्यकारी आदेश मार्फत् लागु गराँउदैछन् । यसो भएमा संसदको स्वीकृति चाहिने छैन ।

नयाँ आदेशमा निश्चित बन्दुकहरूबारे नियम तय गर्ने, पृष्ठभूमिबारे जाँच बढाउने र स्थानीय रूपमा हिंसा हुनबाट रोक्ने जस्ता विषयवस्तु समावेश गरिएको बीबीसीले जनाएको छ । हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानको दोस्रो संशोधनले सुनिश्चित गरेको छ ।

यहाँ मानिसहरू बन्दुक नियन्त्रण सम्बन्धी कानुन आफ्नो संवैधानिक अधिकार माथिको उल्लङ्घनका रूपमा मान्ने गर्छन् । सोहीकारण राष्ट्रपतिलाई यो कानून कार्यान्वयनमा ल्याउन भने मुस्किल रहने समेत बताइएको छ । बुधवार साउथ क्यारोलाइनामा भएको गोली प्रहारमा पाँच जनाको मृत्यु भएको थियो।

मार्च महिनामा समेत अमेरिकामा दुईवटा बन्दुक आक्रमणमा १८ जनाको मृत्यु भएको थियो। बाइडनका अनुसार अमेरिकामा बन्दुकबाट हरेक दिन १०६ जनाको मृत्यु हुने तथ्यांक छ ।