लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार बकिङ्घम राजदरबारले आज एक अप्रिय खबरको पुष्टी गरेको हो । राजकुमार फिलिप बिरामी थिए । उनी अस्पतालमा भर्ना भएका थिए ।
बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेको उल्लेख छ ।
राजकुमारी एलिजाबेथ र फिलिपबीच सन् १९४७ मा बिवाह भएको हो । यो एलिजाबेथले राजगद्दी सम्हाल्नु पाँच वर्ष अगाडि थियो। शुक्रबार बिहान विन्डसर क्यासलमा उनको निधन भएको बीबीसीले लेखेको छ ।

राजकुमार फिलिप र महारानी एलिजाबेथका चार सन्तान, आठ नातिनातिनी छन् र १० जना पनातिपनातिनी छन्। उनीहरूका छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मेका हुन् ।
राजकुमारी एनएस १९५० जन्मेकी हुन् । ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए । अर्ल अफ वेसेक्स प्रिन्स एडवार्ड सन् १९६४ मा जन्मेको बीबीसीले लेखेको छ ।
प्रिन्स फिलिप ग्रीसको कोर्फु द्वीपमा १० जुन सन् १९२१ मा जन्मिएका थिए। उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा हुन् । उनकी आमा, राजकुमारी एलिस, लर्ड लुइ अफ ब्याटनबर्गकी छोरी र रानी भिक्टोरियाका पनातिनी थिइन्। महारानीका पतिको रूपमा उनलाई कुनै पनि संवैधानिक हैसियत भने थिएन।