फुजेल हत्याकाण्डका १२ आरोपितले उच्च अदालतबाट पनि पाए सफाई

फाइल : स्व. नन्दप्रसाद र गंगामाया छोराको तस्वीरका साथमा

हेटौडा । फुजेल हत्याकाण्डका रुपमा परिचित गोरखाका कृष्ण प्रसाद अधिकारीको हत्या अभियोग लागेका १२ जनाले उच्च अदालतबाट समेत सफाई पाएका छन् । यसअघि उनीहरुले जिल्ला अदालत चितवनबाट सफाई पाएका थिए । २०६१ सालमा कृष्णप्रसादको हत्या चितवनमा भएको हो ।

उनको हत्या तत्कालिन द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अपहरणपछि गरेको आरोप लागेको थियो । आफ्नो छोराको हत्यापछि जाहेरी दिन गंगामाया र नन्दप्रसादले लामो समय अनसन बस्नु परेको थियो ।


२०७० चैत ३० मा चितवन जिल्ला अदालतमा एक दर्जन तत्कालिन माओवादी कार्यकर्ताविरुद्ध मुद्दा दायर भएको थियो । कुल १३ जनाविरूद्ध मुद्दा दायर भएकोमा एकजना फरार रहेको भन्दै मुद्दा मुल्तवीमा राखिएको थियो। अनसनकै क्रममा नन्दप्रसादको पाँच वर्ष अगाडी नै मृत्यु भइसकेको छ ।

उनको दाहसंस्कार गर्न भने श्रीमती गंगामायाले मानेकी छैनन् । उनी पनि छोराका हत्यारालाई कारबाही माग गर्न भन्दै अहिले आमरन अनसनमा छिन्। नन्दप्रसादको शव अहिले शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

जाहेरीपछि प्रहरीले अगाडी बढाएको मुद्दामा जिल्ला अदालत चितवनले साढे २ वर्षअघि सबै प्रतिवादीलाई सफाइ दिएको थियो। सो मुद्दामा आज सुनुवाई गर्दै आइतबार उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेको हो ।

अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा हुँदा आरोपित प्रतिवादीउपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार नदेखिने भन्ने चितवन जिल्ला अदालतको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेको हो ।

घटनाका प्रतिवादी गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाएका छन् ।