भारतमा कोरोनाको अर्को रेकर्ड, एकै दिन २ लाख संक्रमित

Photo : Anushree Fadnavis/Reuters

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमणको अर्को रेकर्ड बनेको छ । २४ घण्टाको अवधिमा सबैभन्दा बढी संख्यामा कोरोना भेटिएको छ । बुधबारमात्रै भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको त्यहाँका संचारमाध्यमले लेखेका छन् ।

यस दिन १ लाख ९९ हजार ६ सय २० जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संसारमा एकैदिन दुई लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको मुलुक अमेरिका मात्र थियो । अमेरिकामा ८ जनवरीमा एकैदिन ३ लाख ९ हजार मानिसमा कोरोना संक्रमणको पुष्टी भएको थियो ।


भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको संचारमाध्यमले जनाएका छन् । यद्दपी भारतमा ठूल्ठूला सभा सम्मेलन र मेलाहरु भने अहिले पनि जारी छन् । नेपालबाट पूर्वराजा सहभागी भएको हरिद्धारको कुम्भ मेला समेत आलोचित बनेको छ ।

बुधबार कोरोना भाइरसको संक्रमतिसँगै मृत्युदर समेत उच्च विन्दुमा पुगेको छ । यहाँ एक दिनमा १ हजार ३८ जना संक्रमितको मृत्यु भएको तथ्यांक आएको छ । दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा माथिल्लो विन्दु हो ।