लण्डन । अघिल्लो शुक्रवार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार आज हुँदैछ । नेपाली समय अनुसार साँझ पौने ८ बजेको साइतमा उनको अन्तिम संस्कार हुने बीबीसीले जनाएको छ । त्यसका लागि आवश्यक तयारीको काम पुरा भएको छ । अन्तिम संस्कारमा सर्वसाधारण सहभागी हुन सक्ने छैनन् । तर, यो कार्यक्रमको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
अन्तिम संस्कारको औपचारिक शाही समारोह विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुने भएको छ । राजकुमार फिलिपको शव यतिखेर विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ। राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरे अनुसार नै अन्तिम संस्कारको योजना बनाएको बीबीसीले लेखेको छ ।

कोरोना भाइरससम्बन्धी प्रतिबन्धका कारण बेलायतमा सामाजिक दूरी कायम गर्दै ३० जना मानिस मात्र एक ठाउँमा भेला हुन पाउने नियम छ । आमन्त्रितको सूचीमा महारानी र ड्यूक अफ एडिन्बराका परिवारका सदस्यहरूसहित उनका तीन जर्मन नातेदार रहेका छन्। उनका नाति ड्यूक अफ ससिक्स राजकुमार ह्यारी उक्त समारोहमा सहभागी हुँदैछन् ।
तोकिएको सङ्ख्यामा शवपेटिका बोक्ने मानिस र पादरी समावेश छैनन् । शनिवार राजकुमार फिलिपको शवपेटिकालाई निजी च्यापलबाट विन्ड्सर कासलको राजकीय प्रवेशद्वारमा सारिनेछ। आफ्नो विशेष कार स्टेट बेन्टलीमा सवार महारानी शवयात्राको पछिल्तिर रहने बताइएको छ । ड्यूकको सम्मानमा देशभरि एक मिनेट मौनधारण गरिनेछ। मौनधारण अवधिको आरम्भ र अन्त्यको सङ्केत द किङ्स ट्रूप रोयल होर्स आर्टिलरीले तोप पड्काएर दिने बीबीसीमा उल्लेख छ ।