नेदरल्याण्ड्सविरुद्ध नेपालको रवाफिलो जित

काठमाडौं । नेपालमा शनिबारबाट शुरु भएको त्रिकोणात्मक टी २० सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको सानदार जित निकालेको हो । आजको खेलमा ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी ब्याटिङ गरेका छन् ।

नेपालको साविकको समस्या ब्याटिङमा थियो । तर, प्रशिक्षक वाटमोरको पहिलो खेलमै नेपालले सो पक्षमा ठूलो सुधार गरेको संकेत देखाएको छ । आज टी२० अन्तराष्ट्रियमा डेब्यू गरेका कुशल र आसिफ ओपनिंगमा आएका थिए । दुबै ब्याट्सम्यानले अर्धशतक प्रहार गरे । साथै पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी समेत गरेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । कुशल र आसिफबीच पहिलो विकेटका लागि ११६ रनको साझेदारी भएको थियो । कुशलले ६२ रन बनाए । आरिफले ५४ रनको योगदान गरे । ज्ञानेन्द्र मल्लले १३ रन बनाए । यसअघि बलिंगमा नेपालका सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिएका थिए । सोमपाल कामीले ४ ओभरमा मात्र १३ रन दिएर १ विकेट लिए ।