काठमाडौं\एजेन्सी । स्पेनिस क्लव बार्सिलोनाले सिजनको पहिलो उपाधी जितेको छ । च्याम्पियन्स लीगबाट बाहिरी सकेको बार्सिलोनाका लागि लालिगामा समेत उपाधी जित्नु निकै कठिन छ । यस्तो परिस्थितिमा कोपा डेल रे फाइनलमा भने क्लवले कुनै गल्ती गरेन । खेलको सबै समय दवदवा बनाएको बार्सिलोनाले १२ मिनेट भित्र ४ गोल गर्दै उपाधी जितेको छ ।
बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरे । उनको नाममा दुई गोल रह्यो । शनिबार राति भएको फाइनलमा मेसीसहित एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङको नाममा भने एक-एक गोल रहेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ६० औं मिनेटमा ग्रीजम्यानको गोलबाट अग्रता लिएको बार्सिलोनाले त्यसको १२ मिनेट भित्रै थप तीन गोल गर्न सफल भयो । ६३ औं मिनेटमा फ्रेन्कीले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । ६८ औं मिनेटमा मेस्सीले पहिलो र टीमका लागि तेस्रो गोल गरे । ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल थपे । ८६औं मिनेटमा ग्रीजमनले गरेको गोलले भने मान्यता पाएन । बार्सिलोनाले ३१ औं पटक कोपा डेल रेको उपाधी जित्न सफल भएको छ ।