काठमाडौं । नेपालको निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अब अन्तर प्रदेश उडान गर्ने भएको छ । १ मेबाट एकै पटक चार गन्तब्य जोड्ने गरी अन्तर प्रदेश उडानको घोषणा बुद्धले गरेको हो । बुद्धले पर्यटकीय शहर पोखराबाट विराटनगर, सिमरा र नेपालगन्जलाई एकै पटक जोड्न लागेको हो । साथै भैरहवाबाट भरतपुर उडानको तयारी समेत बुद्धले गरेको छ ।
यी रुटमा बुद्धले १८ सिट क्षमता भएको बिच १९००–डी विमान उडाउने भएको छ । बुद्धले विराटनगरबाट तुम्लिङटारमा ठूलो जहाजबाट उडानको समेत घोषणा गरेको छ । नयाँ घोषणा भएको रुटबाट आन्तरिक उडानमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्र बहादुर बस्नेतले बताए ।
बुद्धले पोखरा नेपालगन्ज ४५ सय, पोखरा–विराटनगर ६ हजार, पोखरा–सिमरा ४३ सय, विराटनगर–तुम्लिङटार २५ सय, पोखरा–भैरहवा ३१ सय र भैरहवा–भरतपुर २५ सय रुपैयाँको टिकट न्यूनतम तोकेको समेत जानकारी गराएको छ । बुद्धले अहिले १४ वटा विमानबाट दैनिक १ सय २० भन्दा बढी उडान गरिरहेको छ ।