काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
सरकारले सीसीएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय गरेको बताउँदै उनले धार्मिक स्थलमा समेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय भएको बताए ।
उनका अनुसार स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना बन्द गर्दै मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने निर्णय पनि भएको छ ।
यसैगरी यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड तोकेर सञ्चालन गर्न लगाउने निर्णयसमेत गरेको छ। बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको छ।