लुम्बिनी प्रदेशमा मूख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद बने मन्त्री, कारवाही गर्ने पार्टीको तयारी

बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा सोमबार नाटकीय घटनाक्रम देखिएको छ । सोमबार बिहान लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरे । प्रस्ताव दर्ता गरेको केही बेरमै जसपाका ४ जना नेता मन्त्रीमा नियुक्त भए । त्यसमध्ये तीन सांसद मन्त्री बनाइए, जसले मूख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । एक जनाले भने गरेका थिएनन् ।

नैतिकताको सामान्य ख्याल नगरी विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल मन्त्री बनेका हुन् । उनीहरुलाई जनता समाजवादी पार्टीले सांसद पद नै नरहने गरी कारवाहीको तयारी गरेको छ । पार्टीले आजै मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी यस्ते जानकारी गराएका हुन् । सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिए सांसद पद नरहने गरी उनीहरु कारबाहीमा पर्ने भएका छन् । मन्त्री बनेका चारै जनाले आज नै सपथ लिएका छन् ।