कतारी रियाल २७ वैशाखपछि नचल्ने, साट्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपालमा २७ वैशाखपछि कतारी रियाल नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी आफुसँग कतारी रियाल भएमा वैशाख २७ गते भित्र साटिसक्नु आह्वान गरेको छ । नेपालमा कतारी रियालको कारोबार बन्द हुने जनाएको छ । राष्ट्र बैंकका अनुसार कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट विस्थापित गर्दैछ ।

आगामी असार १७ देखि कतारमा नयाँ नोट प्रकाशनमा ल्याउने भएको छ । सोहीकारण पुराना नोट नचल्ने निर्णय कतारको केन्द्रिय बैंकले गरेको छ । त्यस अवधिभन्दा अघि नै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुन सक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ ।