काठमाडौं । आज चैत्र शुक्ल नवमी, हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्र पूजा आरधना गरी मनाउँदैछन् । ‘रामनवमी’का नाममा परिचित यो पर्व देशभरका राम मन्दिरमा श्रद्धापूर्वक पूजा गरि मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।
जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतबाट ठूलो संख्यामा मानिसहरुको घुइँचो लाग्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् रामको जन्म भएको किंवदन्ती रहेको छ ।
सोही दिनको सम्झनामा नदी, ताल तथा कुण्डमा स्नान गरी व्रत बस्ने र भगवानको पूजाआजा गरिन्छ । आजै चितवनको चितवनको माडीस्थित अयोध्यापुरीमा प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउन लगाएका सीतारामको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम रहेको छ । प्रतिस्थापन गर्न मूर्ति रथयात्रासहित मंगलबार काठमाडौंबाट लगिएको हो । यी मूर्ति वालुवाटारमै बनाउन लगाइएको हो । यो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र हो ।