पाकिस्तानमा होटेलमा बम विष्फोट, कम्तिमा ४ को मृत्यु

क्वेटा । पाकिस्तानमा एक होटेलमा बम विष्फोट गराइदा कम्तिमा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । पाकिस्तानको क्वेटा शहरमा होटलमा बम विष्फोट गराइएको हो । बीबीसीले लेखे अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विष्फोट गराइएको छ । यो होटेलउच्च सरकारी अधिकारीको बढी आउजाउ हुने होटलका रुपमा चिनिन्छ ।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विष्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विष्फोट गराइएको हो । विष्फोटको जिम्मा तालिवानले लिएको छ । क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक छ । बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ ।

बलुचिस्तान क्षेत्रमा चीनले ठूलो परियोजनामा लगानी गरेको छ र त्यसको विरोध पृथकतावादी समूहले गर्दै आएको छ । त्यसैले यो आक्रमण पाकिस्तानका लागि चिनियाँ राजदूत लक्षित हुनसक्ने स्थानीय मिडियाका रिपोर्टरहरुले जनाएका छन् । यद्यपि चिनियाँ राजदूत नोङ्ग रोङ्ग त्यो होटलमा भने थिएनन् ।