नक्कली पीसीआर लिएर विदेश उड्न खोज्ने सयौं यात्रु पक्राउपछि नेपाली रिर्पोटमै सन्देह

काठमाडौं । कोरोना परीक्षणको पीसीआर रिर्पोट नक्कली बनाएर विदेश उड्न लागेका सयौं नेपाली तथा विदेशी नागरिक बुधबार पक्राउ परेका छन् । यसले नेपालमा पीसीआर रिर्पोटमा भइरहेको धन्दाको पर्दाफास भएको छ । यद्दपी यो घटनाले विदेशमा नेपाली रिर्पोटको विश्वसनीयता माथि भने प्रश्न उठेको छ ।

प्रहरीले सुराकीका आधारमा एक हप्ताको अपरेशनपछि यो धन्दा हुने स्थान फेला पारेको हो । मङ्गलबार प्रहरीले काठमाडौँको सिनामङ्गलबाट आठ जनालाई पक्राउ गरेको थियो । उक्त नक्कली धन्दामा सुरिया हेल्थकेयर प्राली र मेरिट मल्टिकेयर मेडिकल सेन्टरको हात रहेको खुलेको छ । यी दुइ कम्पनीले होटल वा घरमै पीसीआर रिपोर्ट ल्याइदिने गरेको खुलेको छ ।

त्यसका लागि स्वाव होइन, पैसा दिए पुग्थ्यो । प्रहरीका अनुसार वैदेशिक रोजगारमा जान बढी नक्कली रिपोर्ट बन्ने गरेको फेला परेको छ । बुधबार मात्र प्रहरीले त्यस्ता नक्कली रिपोर्ट बोकेर विदेश जान लागेका १७२ यात्रुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार स्वाब सङ्कलन गर्ने एउटा समूह छुट्टै दलालका रुपमा प्रयोग भएको समेत भेटिएको छ । बुधबार १२२ जनालाई भित्र बोर्डिङ पास लिएर जाँदै गर्दा पक्राउ गरिएको हो । थप ५० जनालाई विमानस्थल जाँदै गर्दा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ६८ भारतीय, दुई पाकिस्तानी र १०६ नेपाली छन् । सलाम एयर, जजिरा एयर र एयर अरेबियाबाट उनीहरु विभिन्न मुलुक जाँदै थिए ।