काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्माण भएको धरहराको उद्घाटन गरेका छन्। यसअघि भूकम्पले भत्काएको धरहरा रहेकै स्थान सुन्धारामा नयाँ संरचनासहितको धरहरा बनेको छ । शनिबार प्रधानमन्त्री ओलीले यो धरहराको उद्घाटन गरे ।
धरहरामा राखिएको शिलालेख अनावरण गरेका उनी त्यसपछि भने काठमाडौं अवलोकन गर्न बालकोनी पुगेका थिए । त्यहाबाट पुष्पवृष्टी गर्दै उनले धरहरा पुनर्निर्माणको खुसी बाँडेका थिए । धरहरामा कुल २२ तला रहेको छ । तर, बाहिरबाट हेर्दा भने ११ तला माथि देखिन्छ । अब धरहरा लिफ्टबाट समेत जान सकिन्छ ।
तर, तत्काल सर्वसाधारण भने जान पाउने छैनन् । किनकी धरहरामा गुरुयोजना अनुसारका काम पुरा भएका छैनन् । सरकारले निर्माणको काम नसकिँदै उद्घाटन गरेको हो । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत भएको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले नै २०७५ पुस १२ गते गरेका थिए ।

धरहरा ८३. ८५ मिटर अग्लो छ । धरहरा भिमसेन स्तम्भका नामबाट पनि परिचित छ । यो शुरुमा भिमसेन थापाले बनाएका हुन् । १९९० सालको भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरालाई २०७२ सालको भूकम्पले पुनः भत्काएको थियो । विक्रम संवत् १८८२ मा धरहरा बनेको हो । धरहरा पुर्निर्माणमा ३ अर्ब भन्दा बढी खर्च भएको छ ।