चितवन । नारायणी नदीमा पानीजहाज चलाउने तयारी शुरु भएको छ । नारायणीमा चलाउने उद्देश्यले रिभर क्रुजसीप निर्माणको काम धमाधम भइरहेको छ ।
यो क्रुजसीप राइनो वाटर ईन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो । चितवनको काप्रेघाटमा क्रुजसिप निर्माण गरिरहेको छ ।
यसको सफल परिक्षण भएपछि कम्पनीले दशैं अगाडी नै पानीजहाज संचलन गर्न सकिने सम्भावना रहेको जानकारी गराएको छ ।
कम्पनीका अनुसार यो क्रुजसीप नर्वेजियन प्रविधिमा बन्दैछ । निर्माण कार्यमा भने भारतीय प्राविधिक खटिएका छन् ।
नेपाली र भारतीय गरी ५० जनशक्तिले क्रुज निर्माण गरिरहेको शनिबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
यो पानीजहाजले एक पटकमा २ सय जना यात्रु बोक्न सक्ने क्षमता राख्ने कम्पनीको दावि छ । १५ जना चालक दलका सदस्य यसमा खटिनेछन् । भारतीय ग्राउण्डीमल मरिन इन्टरनेशल कम्पनीले प्राविधिक सहयोग गरिरहेको छ ।
पहिलो चरणमा काप्रेघाटबाट देवघाटसम्म यो पानीजहाजले यात्रु बोक्ने भएको छ ।
मुग्लिनहुँदै त्रिवेणीधामसम्म लैजाने सम्बन्धमा पनि अध्ययन भइरहेको कम्पनीले जानकारी दिएको छ ।
एक सय फिट लामो र २५ फिट चौडा जहाज बन्ने र माथिल्लो तलाबाट खुला दृश्यावलोकन गर्न सकिने कार्यक्रममा जानकारी गराइयो ।