काठमाडौं । सगरमाथा आरोहणका लागि नेपालमा एक सिजनमा अहिलेसम्मकै बढी पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले आरोहण अनुमति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । यसअघि सन् २०१९ मा ३८२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । कोरोना भाइरसको दोस्रो लहरको सन्त्रासका बीच नेपालमा पर्वतारोहणमा भने उत्साह थपिएको छ ।
सन् २०२० को वसन्त ऋतुमा भने कोरोनाका कारण आरोहण सफल हुन सकेन । विभागका अनुसार यस वर्ष आरोहण अनुमति लिनेमध्ये ३०३ जना पुरुष, ९० जना महिला र एक जना अन्य समूहका व्यक्ति छन् । कुल ४२ वटा आरोहण दललाई विभागले अनुमति दिएको छ । सगरमाथा आरोहणको अनुमति दिएबापत विभागले ४७ करोड ७७ लाख रुपियाँ रोयल्टी प्राप्त गरेको छ ।
यो पनि अहिलेसम्मकै सर्वाधिक हो । सगरमाथा आरोहणकै लागि यतिबेला आरोहीसहित गाइड, भान्सेसहित करिब एक हजार संख्यामा मानिसा आधार शिविरमा पुगेका छन् । विभागले शुक्रबारसम्म सगरमाथासहित १६ वटा हिमाल आरोहणका लागि ६८९ जनालाई अनुमति प्रदान गरेको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालका लागि १०६ जनालाई अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।
त्यसपछि अन्नपूर्ण हिमालका लागि ४४ जना, धौलागिरि हिमालका लागि ३३ जना, आमादब्लम हिमालका लागि २७ जना, न्हुुप्त्से हिमालका लागि २३ जनालाई अनुमति दिएको छ । यसबाहेक विभागले मनास्लु, तेङ्काङ्गपोछे, वरुण त्से, हिमलुङ, मकालु, मुस्ताङ, पुमोरी, सरिबुङ, तिलिचो र टुकुचे हिमालका लागि पनि अनुमति जारी गरेको छ ।