काठमाडौं । अघिल्लो एक साताको अवधिमा विदेशमा कुल २३ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । यसमा सबैभन्दा धेरै २० जना भारतमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । भारतमा २० जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर समेत बढेको छ । यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।
भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो ।
निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् । अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण सङ्क्रमित हुने नेपालीको सङ्ख्या ६८ हजार ५०६ जना पुगेको छ ।
कूल सङ्क्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जना सङ्क्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।
नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ जना सङ्क्रमित पुगेकामा ९३ दशमलव तीन प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण शनिबार साँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ ।