गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै

पोखरा । आज गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबुल हुँदैछ । प्रदेशसभाको विशेष अधिवेशन सोमबार शुरू हुँदैछ। यससँगै उनीविरुद्ध अविश्वास प्रस्ताव अगाडी बढ्ने भएको हो । दिउँसो २ बजे अधिवेशन शुरू हुँदैछ । पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको छ ।

आज अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबुल गर्ने कार्यक्रम छ । त्यसपछि भने सांसदले बोल्न पाउने छन् । छलफलपछि अविश्वासको प्रस्ताव टुंगो लगाइने छ । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सफल पार्न कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी र जनमोर्चा कसिएका हुन् ।