बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी

नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको बाँकेमा एक साता लामो निषेधाज्ञा जारी भएको छ । नेपालगन्जमा कोरोनाले मानिसहरुको ज्यान लिइरहेको छ । पछिल्लो एक सातामा यहाँ २५ जना भन्दा ढबीको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणभन्दा बाहिर जान थालेपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाएका छन् ।

प्रशासनले सोमबार रातिदेखि लागू हुने अर्को सूचना जारी नहुँदासम्म जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट निस्कन पाइने छैन । एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई भने सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसअघि स्थानीय प्रशासनले नेपालगन्ज, कोहलपुरमा मात्र लकडाउन गरेको थियो । तर, यो प्रभावकारी नभएपछि जिल्ला भर नै निषेधाज्ञा लगाइएको हो । यस आदेशको अवज्ञा वा अवहेलना गर्ने वा कामका वाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजीम कारबाही हुने भएको छ ।