कोरोना फैलाएको पुष्टी भए साउदीमा आप्रवासीलाई देश निकाला गरिने

काठमाडौं । जानाजान कोरोना भाइरसको संक्रमण फैलाएको पुष्टी भएमा साउदी अरेवीयाले कडा कारवाही गर्ने भएको छ । आफ्नो मुलुकका नागरिकलाई ५ वर्ष जेल र विदेशीलाई देश निकाला गर्ने नीतिसहित साउदीले कडा नियमहरु सार्वजनिक गरेको छ । साउदीले जानाजानी कोरोना भाइरस संक्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने बताएको हो ।

साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको हो । साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिवाना तोकेको छ । कोरोना सङ्क्रमण फैलाउने आप्रवासी श्रमिक भए पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने भएको छ ।

साउदीमा अहिलेसम्म ४ लाख १२ हजार २१६ मानिसमा कोरोना फैलिएको छ । उपचारपछि निको हुनेको सङ्ख्या ३ लाख ९५ हजार ५५७ पुगेको छ । संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९०० रहेको छ ।