भारतमा कोरोनाबाट भएको मृत्युको आंकडामा नयाँ रेकर्ड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण भएको मृत्युको आंकडामा नयाँ रेकर्ड बनेको छ । मंगलबार २४ घण्टामा यहाँ कोरोनाभाइरसका ३ हजार बढी संक्रमितको ज्यान गयो । यो घटना कोरोनाकाल यताकै सबैभन्दा बढी हो । भारतीय संचारमाध्यमले जनाएअनुसार मंगलबार भारतमा ३ हजार २ सय ८६ जना संक्रमितको ज्यान गएको आंकडा आएको छ ।

अब भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ लाख भन्दा माथि पुगेको छ । बढ्दो संक्रमणका बीच यहाँ मानवीय क्षति समेत उत्तिकै बढी भइरहेको छ । भारतमा कोरोनाबाट २ लाख १ हजार १ सय ६ जनाको ज्यान गएको छ।

कोरोनाबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने मुलुकमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ। यहाँ ५ लाख ७२ हजार मानिसले ज्यान गुमाएको आंकडा रहेको छ । दोस्रो नम्बरमा ब्राजिल (३ लाख ९२ हजार) र तेस्रो नम्बरमा मेक्सिको (२ लाख १५ हजार) रहेको छ ।