अब विदेश जानेको पीसीआर रिर्पोटमा फोटो अनिवार्य

काठमाडौं । अब विदेश जाने यात्रुले गर्ने पीसीआर परीक्षणको रिर्पोटमा फोटो अनिवार्य राख्नु पर्ने भएको छ । सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गर्नु पर्ने भएको छ । ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।


यसबाहेक आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

काठमाडौंका सुरिया ल्याबले गरेको पीसीआर परीक्षणको रिपोर्ट नक्कली फेला परेपछि सयौं नेपाली तथा विदेशी यात्रु पक्राउ परिसकेका छन् । उक्त ल्यावले नक्कली रिर्पोट दिने गरेको खुलेको हो । यसले नेपालमा गरेको परीक्षणको विश्वसनीयतामा नै प्रश्न उठेको थियो ।