आजबाट उपत्यकामा निषेधाज्ञा शुरु, यातायात ठप्प-हवाई उडान नियमित

file

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा शुरु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा लागु हुने गरी विहान ६ बजेबाट निषेधाज्ञा सुरु भएको हो । राजधानीमा कोरोना संक्रमणको दरले उचाई लिएसँगै नियन्त्रणका लागि सरकारले निषेधाज्ञा घोषणा गरेको हो ।

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरे अनुसार आजबाट कार्यान्वयनमा आएको हो । निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी हुने सम्भावना छ ।

किनकी मन्त्रिपरिषद बैठकले पहिलो चरणमा नियमित १४ दिनको निषेधाज्ञा जारी गरी कोरोनाको चेन तोड्ने निर्णय गरेको हो । निषेधाज्ञापछि सार्वजनिक यातायात ठप्प भएको छ । हवाई यातायात भने नियमित छ । तर, हवाई यात्रुले सास्ती पाउने छन् । उनीहरु पैदल हिड्नु पर्नेछ । तर, हवाई टिकट देखाएमा भने निजी सवारीमा समेत जान सकिने छ ।

निषेधाज्ञा शुरु भएपछि लाखौं मानिस घर फर्किएका छन् । यसले काठमाडौंमा जनघनत्व समेत केही कम भएको छ । विवाह, व्रतबन्ध लगायतमा बेहुला–बेहुली पक्षका गरी बढीमा १५ जना सहभागी हुन पाइने नियमत छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न पाउने छन् ।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा सञ्चालन गर्न सकिने छ ।

सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धि मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न पाउने छन् ।

विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सबन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले दिने पास लिएर सञ्चालन गर्न पाइने छ ।

अस्पताल आउने–जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका व्यक्तिहरुलाई पनि प्रमुख जिल्ला अधिकारीले दिएको पासका आधारमा गाडी प्रयोग गर्न पाइने छ । डिपार्टमेन्टल स्टोर, खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सन्चालन गर्न पाइने छ ।