नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ३६ सय ४७ मानिसको ज्यान गएको छ । तिव्र गतिमा फैलिएको कोरोनाबाट भारत अहिले सबैभन्दा बढी संक्रमित भएको छ । संक्रमण फैलिए यता भारतमा एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । बुधबार २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएको थियो । यससँगै भारतमा ज्यान गुमाउनेको संख्या २ लाख ४ हजार ८१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ७९ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । भारतमा संक्रमितको संख्या १ करोड ८३ लाख ६८ हजार ९६ पुगेको छ । भारतमा १ करोड ५० लाख ७८ हजार २७६ जनाले कोरोना जित्न सफल भएका छन् । यहाँ सक्रिय संक्रमित ३० लाख ८५ हजार ८ जना छन् ।