कोरोनाका कारण नेपालमा एक दिनमा सबैभन्दा बढी मानिसको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएयता आज सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । ​स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार कोसार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा ३५जनाको मृत्यु भयो । यो पछिल्लो एक वर्षको अवधिमा कोरोनाबाट एक दिनमा भएको सर्वाधिक ठूलो संख्या हो ।

नेपालमा कोरोनाका कारण कार्तिक १९ मा ३० जनाको निधन भएको तथ्यांक छ । सो तथ्यांक अहिलेसम्मकै बढी थियो । उक्त रेकर्ड आज तोडिएको छ । अब नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२४६ पुगेको छ। बिहीवार थप ४,८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कुल १२,५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टिजन परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। २४ घण्टामा ८८८ जनाले कोरोनालाई जितेका छन् । अब नेपालमा ३४,११७ जना सक्रिय सङ्क्रमित पुगेका छन् ।