काठमाडौं । काठमाडौँ महानगरपालिमा निषेधाज्ञा र कोरोना महामारीका बीच कुनै समस्या परेमा जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्।
कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नम्बर सार्वजनिक गरिएको बताएका हुन् ।
उनका अनुसार नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा कोभिडबाहेकका बिरामीले उपचारका लागि अस्पताल जानुपर्ने भएमा हटलाइन टेलिफोन नम्बर ११८० मोबाइल नम्बर ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा सम्पर्क गर्न सकिने भएको छ ।
कोभिडका बिरामीले अस्पताल जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न सकिने छ ।
भीड नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित हात धुने, हात धुने अवस्था नरहे स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु नागरिक दायित्व हो भन्दै प्रमुख शाक्यले अपिलमा निषेध आदेशलाई आफ्नै सुरक्षाका लागि हो भन्ने ठानेर पालना गर्न अनुरोध गरेका छन्।
पूजाआजा, सामाजिक कार्यक्रम, भोजजस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाइदिन अनुरोध समेत उनले गरेका छन् ।