नेपालमा कन्ट्याक्ट ट्रेसिङ बीनै उच्चतम विन्दुमा पुग्यो कोरोना

काठमाडौं । नेपालमा अहिले मानिसहरुले आफुलाई कोरोना भएको आंशकमा परीक्षण गरिरहेका छन् । विदेश जान पीसीआर अनिवार्य हुनेहरुले परीक्षण गरिरहेका छन् । अर्कोतर्फ अस्पतालमा अपरेशनको मिति कुरिरहेकाहरुले पीसीआर परिक्षण गरिरहेका छन् । तर, सरकारले कुनै एक जनामा कोरोना भएमा कोरोना संक्रमितको आसपासमा हुनेहरुको कन्ट्रयाक ट्रेसिंग गर्न छाडेको निकै भइसकेको छ ।

तर, संक्रमणको दर भने पहिलो चरणको हाराहारीमै पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर ५ हजार ७२७ जनामा कोरोना देखियो । यो अघिल्लो लहरकै हाराहारी हो । तर, अघिल्लो पटक कन्ट्याक्ट ट्रेसिङ पर्याप्त मात्रामा भएको थियो ।

शुक्रबार देशभर १५ हजार ३९१ जनाको पीसीआर परीक्षण भएको थियो । जसबाट ५६५७ जनामा कोरोना देखियो । ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा २०७६ माघ १० मा पहिलो केस देखिएको हो । २०७७, ५ कात्तिकमा २० हजार ७४२ नमुनाबाट ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो सबैभन्दा उच्चतम विन्दु थियो ।

त्यसपछि भने हरेक दिन कम हुँदै गएको थियो । युके भेरियन्ट नेपालमा फैलिएसँगै यसको संक्रमण दरसमेत तिब्र बनेको छ । कोरोना संक्रमितलाई लक्षण देखिनुभन्दा एकदुई दिन अगाडि नै अरुलाई सार्नसक्ने भएकाले कन्ट्याक्ट ट्रेसिङलाई पनि त्यतिकै प्राथमिकता दिनुपर्ने विज्ञहरुले बताएका छन् ।