काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७\७८ को आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने संशोधित अनुमान गरेको छ । यो वर्ष सरकारले बजेटबाट ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तथ्यांक विभागद्धारा शुक्रबार सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकअनुसार कोरोना महामारीको बढ्दो संक्रमणका कारण वृद्धिदर खुम्चन देखिएको छ ।
विभागले अहिले विश्वमा देखिएको कोभिड १९ को महामारीको असर न्यून गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासको प्रभाव अर्थतन्त्रमा प्रत्यक्ष देखिने बताएको छ । तर, यसको असर कति गहिरो रहने छ भन्ने अनुमान भने अहिले गर्न नसकिएको विभागको भनाई छ ।
आगामी दुई सातापछि चालु आर्थिक वर्षको अन्तिमसम्म भने कोभिड १९ को नकारात्मक असर सामान्य रहने र आर्थिक क्रियाकलाप सामान्य किसिमले संचालन हुने विश्वास छ । सरकारले यो दुई साता भने काठमाडौंसहितका विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ । विभागले चैत मसान्तसम्मको तथ्यांकका आधारमा यो अनुमान सार्वजनिक गरेको जनाएको छ ।
विभागका अनुसार चालु आवमा प्राथमिक क्षेत्रको वृद्धिदर २.७५ प्रतिशत मात्र रहने छ । द्धितीय क्षेत्रको वृद्धिदर भने ४.९३ प्रतिशतको रहने छ । सेवा क्षेत्रमा भने वृद्धिदर ४.४३ प्रतिशत रहने छ ।