काठमाडौं । नेपालमा रुसबाट कोरोना भाइरस विरुद्धको खोप ल्याउने तयारी शुरु गरिएको छ । दुबै मुलुक यससम्बन्धमा सकारात्मक भएसँगै रुसबाट खोप ल्याउने प्रक्रिया अगाडी बढाइएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसका राजदूत अलेक्सेइ नोभिकोभले सोही सिलसिलामा भेट गरेका छन् । उनले नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जानकारी प्रधानमन्त्री ओलीलाई दिएको नेपाली संचारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदूत नोभिकोभलाई आग्रह गरेको बताइएको छ । नेपालमा निजी क्षेत्रबाट चिनियाँ खोप ल्याउने समेत पहल भएको थियो । तर, सरकारले सरकारी स्तरमै खोप ल्याउने तयारी थालेको छ । भारतमा बढ्दो संक्रमणका कारण भारतबाट खरीद गरेको खोप ल्याउन सकिएको छैन । चीनले अनुदानमा दिएको खोप लगाइसकिएको छ ।