भारतमा एक दिनमा ४ लाख संक्रमित थपिए, अहिलेसम्मकै बढी फैलावट

File Photo REUTERS/Danish Siddiqui/THT

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा शनिबार एकै दिन चार लाखभन्दा बढी मानिसमा कोरोनाभाइरस संक्रमण भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४ लाख ८ हजार ३ सय २३ मानिसमा कोरोना देखियो । यो अहिलेसम्मकै ठूलो आंकडा हो ।

भारतमा अहिले संक्रमण र मृत्युदर दुबैमा गुणात्मक वृद्धि भएको छ । यसले ठूलो मानवीय क्षति भइरहेको छ । यस अवधिमा भारतमा थप ३ हजार ५ सय २२ जनाको ज्यान गएको छ । भारतमा आठ दिन लगातार दैनिक तीन लाखभन्दा बढी संक्रमित पुष्टि हुँदै आएको छ । अब यो आंकडा चार लाख माथि पुगेको हो ।

भारतमा अब सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ पुगेको छ। एक करोड ९१ लाख ५७ हजार ९४ जनामा कोरोना पुष्टि भएको छ । एक साता यता भारतमा दैनिक ३ हजार भन्दा माथि मानवीय क्षति भइरहेको छ । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार ७७८ पुगेको छ।