काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न २४ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । सरकारले यस पटक देशव्यापी लकडाउन नगरी स्थानीय प्रशासनमार्फत कडाई गरेको छ । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।
गृह मन्त्रालयका अनुसार २७ जिल्लामा निषेधाज्ञा जारी भएको छ । त्यसमध्ये आजसम्म २४ जिल्लामा आदेश कार्यान्वयनमा आइसकेको छ । तीन जिल्लामा आइतबादेखि निषेधाज्ञा कार्यान्वयमा आउने छ । केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको हो ।
गृह मन्त्रालयका अनुसार अहिले बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा आदेश कार्यान्वयनमा छ । कालीकोट, बागलुङ, बर्दिया र दार्चुलामा आंशिक आदेश जारी भएको छ ।
जाजरकोटमा आज रातिदेखि निषेधाज्ञा कार्यान्वयनमा आउने छ । सल्यान, डडेलधुरा र झापामा आइतबारदेखि निषेधाज्ञा कार्यान्वयन हुनेछ । आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिएको छ ।